नागरिकता अध्यादेशविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं : सरकारले ल्याएको नागरिकातासम्बन्धी अध्यादेशविरूद्ध परेका रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाई हुँदैछ। त्यसका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बरिष्ठतमन्यायाधीशहरू सम्मिलित संवैधानिक इजलासमा गठन गरेका छन्।

संवैधानिक इजलासमा जबरासहित दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन्। वरिष्ठ पाँच मध्ये विश्वम्भर श्रेष्ठ अहिले आइसोलेसनमा छन्। त्यसपछिका बरिष्ठ खतिवडा हुन्। प्रतिनिधि सभा विघटनविरूद्धको रिटमा संवैधानिक इजलासको रोष्टरबाट कनिष्ठ न्यायाधीश छानिएका थिए । ती मध्ये दुई न्यायाधीशले नेकपा विवादमाथि फैसला र पुनरावलोकन नहुने आदेश दिएको भन्दै प्रश्न उठेको थियो। त्यसपछि संवैधानिक इजलास गठन विवादित भएको भन्दै प्रधानन्यायाधीश जबराको चर्काे आलोचना भएको थियो । सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीहरुले बरिष्ठताका आधारमा इजलास गठन गर्न सुझाव दिएका थिए। त्यही सुझावअनुसार जबराले वरिष्ठतम न्यायाधीश सम्मिलित इजलास गठन गरेका हुन् ।

नागरिकताजस्तो संवेदनशील र राष्ट्रियतासँग जोडिएको विषयमा सरकारले अध्यादेश ल्याएको भन्दै वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की लगायतले सर्वाेच्चमा रिट दायर गरेका थिए । त्यसता छ रिटउपर आजको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । जन्मसिद्ध नागरिकका सन्तानले बुवा(आमा दुवैको नागरिकता देखाए वंशजको नागरिकता पाउने, बावुको पहिचान नभएको स्वघोषणा गरे नेपाली आमाको नामबाट मात्र नागरिकता पाउने लगायतका व्यवस्था समावेश गरी सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याएको थियो ।