
आज विश्व वातावरण दिवस मनाइँदै छ । ‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुन:स्थापना’ भन्ने नाराका साथ नेपालमा पनि यो दिवस मनाउन लागिएको हो ।

कोरोना भाइरसको महामारीका कारण भर्च्युअलरूपमा विभिन्न क्षेत्रले दिवसका अवसरमा वातावरण संरक्षणको आवश्यकता र अवस्थाबारे सचेतनामूलक कार्यक्रम गर्दै छन् । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन ५ मा यो दिवस मनाउने गरिन्छ ।




सरकारले चुरे क्षेत्रको ढुङ्गा, गिट्टी र बालुवा निकासी गर्ने विवादित निर्णय गरेसँगै वातावरण दिवस मनाउन लागिएको छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसका अवसरमा शुभ कामना दिँदै नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा यसलाई लिनुपर्ने बताएकी छन् ।
संयुक्त राष्ट्रसंघले आह्वान गरेबमोजिम प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा सन् १९७४ देखि मनाउन थालिएको हो । यस वर्ष पारिस्थितिकीय प्रणाली पुन:स्थापनका विषयमा केन्द्रित हुँदै ‘नयाँ सोच र सिर्जनाका साथ प्राकृतिक प्रणालीको पुनःस्थापनाका लागि विश्व वातावरण दिवस’ मनाउन लागिएको छ ।