
कैलालीको भारताल साझेदारी वनमा कर्मचारीको मिलेमतोमा काठ तस्करी भइरहेको खुलेको छ । धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकामा पर्ने भारताल साझेदारी वनमा निषेधाज्ञाको मौका छोपी ठूलो परिमाणमा सालको काठ तस्करी भएको स्थानीयले बताएका छन् ।

भारताल साझेदारी वनबाट दिनदहाडै वन कर्मचारी र साझेदारी वनका पदाधिकारीको मिलेमतोमा वन क्षेत्रबाट काठ तस्करी भएको बताइएको छ । त्यसमा साझेदारी वनका पदाधिकारी र वन कर्मचारीको समेत प्रत्यक्ष संलग्नता रहेको स्थानीयवासीले आरोप लगाएका छन् । साझेदारी वनबाट भइरहेको काठ तस्करी रोक्न माग गर्दै विभिन्न ७ ओटा सामुदायिक वन उपभोक्ता समिति, स्थानीय र जनप्रतिनिधिले भारताल साझेदारी वनमा भइरहेको अवैध कार्य तुरुन्त रोकिनुपर्ने माग गरेका छन् ।



साझेदारी वनमा सालको काठ तस्करी संस्थागत रूपमै मौलाएको भन्दै सरोकारवाला स्थानीयले चिन्ता गरिरहेका बेला साझेदारी वनका अध्यक्ष यादव भण्डारीले भने सत्यतथ्य छानबिन गरेर यथार्थ कुरा ३ दिनभित्र बाहिर ल्याउने दाबी गरेका छन् । राष्ट्रिय वन क्षेत्रमा फँडानी, काठ चोरी, तस्करी बढी हुने भन्दै सरकारले झण्डै २ हजार ६ सय ५३ हेक्टरमा फैलिएको भारतालमा साझेदारी वन व्यवस्थापनको १० वर्षे कार्ययोजना बनाएको छ।

तर सोही वनमा लगातार वन विनासका शृङ्खलाबद्ध घटना भइरहेको र त्यसमा साझेदारी वन व्यवस्थापन समूहकै संलग्नता रहेको भन्दै विरोध हुन थालेको छ । विभिन्न ३१ वटा सामुदायिक वनले घेरिएको भारताल वनबाट खुलेआम सालका काठ तस्करी भइरहेकोले नियन्त्रणको प्रयास गरिनुपर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको शिवदर्शन सामुदायिक वनका सचिव गयाप्रसाद रानाको माग छ । धनगढी उपमहानगरपालिकामा रहेका ७ वटा सामुदायिक वनले शुक्रबार सामुहिक विज्ञप्ति निकालेर भारतालमा भइरहेको काठ तस्करी रोकिनुपर्ने माग गरेका छन् ।
साझेदारी वनबाट भइरहेको तस्करी रोक्न फूलबारी सब–डिभिजन वन कार्यालय र धनगढी डिभिजन कार्यालयलाई अनुरोध गर्दा समेत कर्मचारीले सहयोग नगर्ने गरेको धनगढी १६ मा रहेको त्रिनेत्र सामुदायिक वनकी अध्यक्ष दिपा शाहूको गुनासो छ । धनगढी १५ मा रहेको सिद्धबाबा सामुदायिक वनका अध्यक्ष केशव जोशीले भारताल साझेदारी वनको अवधारण नै गलत भएकोले यो खारेज हुनुपर्ने बताएका छन्। उनले भने, “खुलेआम वन तस्करी गरेर करोडपति हुन खोज्नेहरुको कारण साझेदारी वनको अवधारण नै खारेज गर्नु पर्ने माग उठाउनुपर्ने समय आएको छ। साझेदारी वन खारेज गरेर भारताल वनको क्षेत्रलाई सामुदायिक वनहरूलाई संंरक्षण गर्न दिनुपर्छ।” स्थानीय सरकारका जनप्रतिनिधिले पनि भारताल साझेदारी वनमा कानुनविपरीत काम हुने गरेको गुनासो बढ्न थालेको बताएका छन् ।
धनगढी उपमहानगरपलिका वडा नम्बर १५ का अध्यक्ष फूलराम चौधरीले सर्वसाधारणले भारताल वनबाट काठ तस्करी भइरहेको गुनासो वडा कार्यालयमा समेत आउने गरेको बताए। धनगढी उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष लक्ष्मीनारायण चौधरीले पनि व्यवस्थापनको नाममा वन विनास हुने गतिविधि रोकिनुपर्ने बताएका छन्। भारताललगायत अन्य सामुदायिक वनमा समेत मौलाएको विकृतिको अन्त्य गर्न सबैले जागरुक हुनुपर्ने वडा अध्यक्ष चौधरीले बताएका छन्। तर भारताल वनका अध्यक्ष यादव भण्डारीले भने सातै जना कर्मचारी उपर छानबिन भइरहेको र सत्यतथ्य पत्ता लगाएर कारबाहीका लागि वन डिभिजन कार्यालयलाई सिफारिस गर्ने बताएका छन्।
धनगढी उपमहानगरपालिकाका १३ वटा वडा र कैलारी गाउँपालिकाका स्थानीयले कानुनअनुसार वन पैदावार प्रयोग गर्नसक्ने हिसाबले वन फँडानी र तस्करी समेत रोक्न दिगो वन व्यवस्थापनको अवधारणा ल्याएको छ। साझेदारी वनमा तस्करी भएको विषयमा धनगढी उपमहानगरपालिकामा पर्ने शिवदर्शन, सिद्धबाबा, शिवगंगा, कैलाश, हरियाली, गणेश र त्रिनेत्र सामुदायिक वन उपभोक्ता समिति र स्थानीयले खुलेर विरोध गरेका छन् ।