भवन अभावमा पीपलको छहारीमा बस्छन सेवाग्राही | ओमकार टाईम्स

जलेश्वर  । मटिहानी नगरपालिका वडानं. ९ सिमरदहीको वडा कार्यालयमा ३ वटा कोठा छन् ।
एउटामा वडाध्यक्षसहित सेवाग्राहीहरुको लागि कुर्सी र सोफा राखिएको छ । अर्को एउटा सानो भवन स्टोर रुम छ जो बन्द नै हुन्छ र अर्को कोठमा वडा कार्यालयका सचिव, वडाका अन्य कर्मचारी, हुलाक कार्यालयका कर्मचारीहरु बसेर कामकाज गर्ने गरेका छन् ।

सोही कोठामा पुरानो फर्निचर समेत थुपारिएको छ ।  वडाका सचिव विकेश झाले कोठा अभावमा सेवा सुविधा चुस्त दुरुस्त दिन कठिनाई भइरहेको बताउनुभयो ।

एकातर्फ कर्मचारी बस्ने ठाउँको अभाव छ अर्कोतर्फ सेवाग्राहीहरुलाई कसरी बसाउने र कसरी सेवा दिने समस्या रहेको बताउनुहुँदै वडासचिव झाले भन्नुभयो, ‘वडा कार्यालय अगाडि नै पुरानो पीपलको बोट छ जसले गर्दा सेवाग्राहीहरुलाई त्यहाँको छहारीबाट सेवा लिन अलि सहज भएको छ ।’

एउटै कोठामा वडासचिव, कम्प्युटर अपरेटर र हुलाकले सेवा दिँदै आएको छ । त्यहाँ कर्मचारी बाहेक अन्य मान्छे बस्ने ठाउँ नै छैन् र सोही कोठामा पुराना फर्निचर थुपारेर गोदाम घर बनाइएको छ वडासचिव झाले दुखेसो पोख्नुभयो ।
पटक पटक आफूहरूले नगरपालिकामा भवन अभावको कारणले कामकाजमा सास्ती भइरहेको जानकारी गराए पनि अहिलेसम्म कुनै पहल हुन नसकेको बताउनुभयो ।

सो वडाका वडाध्यक्ष आविद हुसैनले भवन अभावमा कामकाजमा कठिनाई भइरहेको स्विकार्नुहुदै नगरपालिकाले आश्वासन मात्रै दिने गरेको कारणले समस्या भएको बताउनुभयो ।

वडा कार्यालयको पछाडि महिला विकास कार्यालयले बनाएको भवन मरम्मत गरि दिने नगरपालिकाले पटक पटक आश्वासन दिए पनि अहिलेसम्म नदिएको कारणले समस्या भएको वडाध्यक्ष हुसेनले बताउनुभयो ।

नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले पटक पटक आफूहरूलाई आश्वासन मात्रै दिने गरेका कारणले सेवाग्राहीलाई सोचे अनुसारको सेवा दिन नसकिएको वडाध्यक्ष हुसेनको दावी थियो ।

उहाँले भन्नुभयो,‘भनाई र गराईमा फरक भएको कारणले आफूहरु मारमा छौं, आश्वासन नदिएको भए अन्य विकल्प खोज्थ्यौं ।’
यता, मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले वडा कार्यालयलाई व्यवस्थित गराउन यसैवर्ष महिला विकास कार्यालयले बनाएको भवन हस्तान्तरण गरिने योजनामा रहेको बताउनुभयो ।

१० देखि १५ लाखसम्ममा सो भवन मरम्मत गराएर यसैवर्ष वडाकार्यालयलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको बताउनुहुदै भवन अभावकै कारण सेवा दिन अप्ठयारो भने नभएको बताउनुभयो ।