उदयपुर सिमेन्ट उद्योग एक महिनादेखि बन्द हुँदा करोडौंको नोक्सानी

उदयपुर । मुलुककै ठूलो उदयपुर सिमेन्ट उद्योग एक महिनादेखि बन्द हुँदा करोडौंको नोक्सानी भएको छ । विद्युत् भोल्टेजमा आएको गडबडीले गत जेठ २० गते ५ सय किलोबाट क्षमताको हाइटेन्सन मोटरमा क्षति पुगेपछि उद्योगको उत्पादन कार्य बन्द भएको हो ।

मोटर पुनः मर्मतका लागि बुटवलस्थित नेपाल इन्जिनियरिङ हाइड्रो वर्कसपमा लगिए पनि त्यसको मर्मत भने भइसकेको छैन । असार २५ गतेभित्र मर्मत तथा जडान सम्पन्न गरिसक्ने लक्ष्य रहेको उद्योग प्रशासनले जनाएको छ ।

बिज्ञापन

उद्योगले चालू आवमा १ लाख ३२ हजार टन क्लिङ्कर उत्पादन गर्ने लक्ष्य राखेको थियो । जेठ १९ गतेसम्म १ लाख २२ हजार टन उत्पादन भएकोमा लक्ष्यमा पुग्नै लाग्दा हाइटेन्सन मोटरमा क्षति पुगेपछि उत्पादन बन्द भएको हो ।

“दैनिक १० हजारदेखि १२ हजार बोरासम्म सिमेन्ट बिक्री गरिरहेका छौं,” उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले भने, “क्लिङ्कर उत्पादन बन्द भए पनि स्टकबाट बिक्री गर्ने काम भने रोकिएको छैन ।” मोटर तत्काल मर्मत र जडानका लागि ताकेता भइरहेको र २५ गतेभित्र जडान भइसक्ने आश्वासन पाएको उनले बताए ।

दैनिक ७५० देखि ८ सय टन सिमेन्ट क्लिङ्कर उत्पादन हँदै आएको उद्योगले मोटर बिग्रिएपछि दैनिक ७५ लाख रुपैयाँ घाटा बेहोर्नु परेको नायव महाप्रबन्धक महेश काफ्लेले बताए ।