काठमाडौं- इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) विरुद्ध घरेलु मैदानमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ। टी-२०, एकदिवसीय र प्रथम श्रेणी क्रिकेटका लागि घोषणा गरिएको टोेलीमा पूर्वकप्तान पारस खड्का भने एकदिवसीय टिममा मात्रै परेका छन्।
३ नोभेम्बरदेखि हुने सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार ज्ञानेन्द्र मल्लको कप्तानीमा टोलीको घोषणा गरेको हो। जसमा टी-२० का लागि १५ र एकदिवसीय र प्रथम श्रेणीका लागि १४/१४ खेलाडी छानिएका छन्।
एमसिसीको टिम शुक्रबार नेपाल आइपुग्ने तालिका रहेको छ। एमसिसीले राष्ट्रिय टिमसँग टी-२०, एकदिवसीय र प्रथम श्रेणीको खेल खेल्नेछ। यस्तै, यू-१९ टिम र पोखरामा स्थानीय टिमसँग पनि एमसिसीले खेल्नेछ। नेपालमा क्रिकेटको विकासका लागि सहयोग गर्ने हेतुले एमसिसी नेपाल आउन लागेको जनाइएको छ।