
काठमाडौं : विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बा मृत अवस्थामा फेला परेका छन् । प्रहरीले उनको शव बुधबार दक्षिणकालीको ट्वाइलेटबाट बरामद गरेको छ ।




काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले दक्षिणकालीमा भेटिएको शव सामाजिक सञ्जालमा विभिन्न आवाज निकालेर चर्चामा आएकी सुब्बाको भएको बताए । ‘टाउकोमा गह्रुंगो वस्तुले हिर्काएको देखिएको छ,’ उनले भने, ‘अनुहार क्षतविक्षत भएको छ ।’

उपत्यका अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार घटनालगत्तै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञसहितको टोली बोलाएर जाँच गरिएको थियो ।
प्रहरीले तालिम प्राप्त विशेषज्ञ कुकुर पनि घटनास्थलमा ल्याएको थियो । प्रहरी र चिकित्सकले उनी गर्भवती भएको हुनसक्ने आशंका गरेको छ । पोष्टमार्टमपछि मात्रै यसको पुष्टि हुने प्रहरीले जनाएको छ ।