
काठमाडौं- सरकारले विदेशमा अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा उद्दार गर्ने काम शुरु गरिसकेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि समस्यामा परेका नेपाली प्राथमिकताका आधारमा स्वदेश फर्काउन सरकारले उडान तालिका र भाडादर निर्धारण गरेको छ ।



पहिलो चरणको प्राथमिकतामा परेका ३० देशका २४ हजार १४८ नेपालीको स्वदेश फिर्तीका लागि संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका तयार पारेर कोभिड १९ व्यवस्थापन केन्द्र सिसीएमसीलाई बुझाएको छ ।

मन्त्रालयले सीसीएमसीलाई उपलब्ध गराएको तालिका अनुसार जेठ २९ गतेदेखि असार ११ गतेसम्म पहिलो चरणको उडान तालिका बनेको छ ।
सरकारले नेपालीहरुलाई विदेशबाट फर्काउन नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज पठाउने भएको छ भने केही विदेशी एयरलाइन्सलाई उडानमा प्रयोग गर्ने जनाइएको छ ।
३० देशबाट नेपालीलाई ल्याउन ६७ वटा उडान हुने भएको छ । त्यसका लागि नेपाल एयरलाइन्सले २४, हिमालय एयरलाइन्स १९ र विदेशी जहाजदे २४ वटा उडान भर्नेछन् ।
कुन देशबाट कहिले उडान हुन ?
सरकारको निर्णयअनुसार जेठ २९ गते कुवेतबाट दुई उडान हुने छन्। त्यस्तै जेठ ३२ मा बंगलादेश, असार १ मा माल्दिभ्स, मलेसिया, साउदी अरब, सिंगापुर, कम्बोडिया र ओमनबाट हुने छन्।
त्यस्तै, असार २ मा संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, श्रीलंका र माल्दिभ्समा उडान हुने छ। असार ३ मा अष्ट्रेलिया, थाइल्यान्ड, बहराइन, बंगलादेश, कतार र संयुक्त राज्य अमेरिकामा उडान हुने छ। असार ४ मा साउदी अरब, संयुक्त अरब इमिरेट्स, मलेसिया र ओमन उडान हुने छ। असार ५ मा जापान, कुवेत, साउदी अरब र नाइजेरिया उडान हुने छ।
असार ६ मा साइप्रस, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, बंगलादेश र युरोपियन युनियनबाट नेपालीको उद्धार उडान हुने छ। असार ७ मा दक्षिण कोरिया, ओमन, कुवेत र मलेसिया तथा असार ८ मा अष्ट्रेलिया, थाइल्यान्ड, पाकिस्तान र कतार हुनेछ। असार ९ मा जापान, माल्दिभ्स, संयुक्त अरब इमिरेट्स र युगान्डा तथा असार १० मा साउदी अरब, कुवेत र असार ११ मा साइप्रस र इजरायल उडान गर्ने तालिका तय गरिएको छ।
भाडादर कति ?
सरकारले प्राथमिकताको आधारमा नेपाल ल्याउने नेपालीले विभिन्न देशबाट आउँदा आफैले टिकट काट्न पर्नेछ । सरकारले उद्दार गर्नका लागि सूची तय गरेको ३० देशबाट आउनका लागि हुने चार्टर्ड उडानको भाडादर पनि तोकेको छ ।
साउदीको दमामबाट आउने नेपालीले ५९० अमेरिकी डरल, रियादबाट आउनेले ६३० अमेरिकी डलर र जेद्दाबाट आउनेले ७७० अमेरिकी डलर भाडा तिर्न पर्नेछ ।
यस्तै यूएईको दुबईबाट आउनेले ५०० अमेरिकी डलर, आबुधाबीबाट आउनेले ५०० अमेरिकी डलर र सारजाहबाट आउनेका लागि पनि ५०० अमेरिकी डलर भाडा तोकिएको छ ।
यस्तै ओमानबाट ५१० अमेरिकी डलर, मलेसियाको राजधानी क्वाललम्पुरबाट आउनेका लागि ५२० अमेरिकी डलर, कतारको दोहाबाट आउनेले ५४५ अमेरिकी डलर र बहराइनबाट स्वदेश फर्कने नेपालीका लागि ५४५ अमेरिकी डलर र कुवेतबाट आउनेका लागि ५७० अमेरिकी डलर भाडा तोकिएको छ ।
यस्तै, माल्दिभ्सबाट आउनेले ५०५ अमेरिकी डलर, जोर्डनबाट आउनेका लागि ८१५ अमेरिकी डलर, साइप्रसबाट आउनेका लागि ८७५ अमेरिकी डलर, जापानको नारिताबाट आउनेका लागि ९३५ अमेरिकी डलर भाडा सरकारले तोकेको छ ।
सुडानको खार्तुनबाट आउनेका लागि ९४० अमेरिकी डलर, फ्रयाङकफर्टबाट आउनेका लागि १२५५ अमेरिकी डलर, लन्डनबाट आउनेका लागि १३४० अमेरिकी डलर भाडा तोकिएको छ ।
बांगलादेशबाट आउनेका लागि १६५ अमेरिकी डलर, नयाँ दिल्लीबाट २०५ अमेरिकी डलर, मुम्बइबाट आउनेका लागि ३१० अमेरिकी डलर, बैंगलोरबाट आउनेका लागि ३३५ अमेरिकी डलर, बैंककबाट आउनेका लागि ३९० अमेरिकी डलर, कम्बोडियाबाट आउनेका लागि ४०० अमेरिकी डलर र हङकङबाट आउनेका लागि ५५० अमेरिकी डलर भाडा तोकिएको छ ।
पर्यटन मन्त्रालयले उडान तालिका र भाडादर बुझाए पनि कति मान्छे ती उडानबाट नेपाल आउँछन् भनेर सिसीएमसीले हिसाब गर्ने जनाइएको छ ।