
मोरङ । मोरङ जिल्लाको लेटाङ नगरपालिका–५ का ५० वर्षीय कुलबहादुर लिम्बुले वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै १४ युवायुवतीबाट १९ लाख ८० हजार रुपैयाँ ठगि गरेका छन्।




लिम्बु रोजगारीका लागि युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने ठगि कार्यमा समेत सक्रिय रहेको विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयका प्रमुख एवं वरिष्ठ श्रम अधिकृत प्रेमकुमार सञ्जेलले बताएका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनका क्रममा सञ्जेलले लिम्बुले १४ जनासँग प्रतिव्यक्ति एक लाखदेखि दुई लाख ८० हजार रुपैयाँसम्म ठगी गरेको बताएका छन् ।
पीडितहरुले दोषीमाथि कारबाही हुनुपर्ने माग राखेर श्रम कार्यालयमा उजुरी दिएका छन् । उजुरीकै आधारमा श्रम कार्यालयले पक्राउ पूर्जी जारी गरेपछि महानगरीय प्रहरी परिषर टेकुले कुलबहादुरलाई काठमाडौँबाट पक्राउ गरेर विराटनगर ल्याएको थियो।
विदेश पठाउन आधिकारिक मेनपावर कम्पनी दर्ता गरेर इजाजत लिनु पर्नेमा प्रावधान रहेपनि हालसम्म लिम्बुको कुनै आधिकारीक कम्पनी नभएको अनुसन्धानका क्रममा खुलेको श्रम अधिकृत सञ्जेलको भनाइ छ।
यसअघि, कुलबहादुरले २०७५ साल आषाढसम्ममा सबैलाई पर्यटक भिषामा इजरायल पठाइसक्ने र पठाउन नसके तत्काल पैसा फिर्ता दिने भनेर कागज पनि गरेका छन्।