
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमण दर घट्दै गएसँगै निजी अस्पतालहरूसँग गरेको उपचार सम्झौता तोडेको छ । अबदेखि सरकारी अस्पताल र स्वास्थ्य प्रतिष्ठानहरूमा मात्र कोरोना सङ्क्रमितको उपचार निःशुल्क हुने भएको छ भने निजी अस्पतालमा कोरोना सङ्क्रमितको उपचार शुल्क बिरामी स्वयंले तिर्नुपर्ने भएको हो ।
असार १४ गते बसेको सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले अबदेखि निजी अस्पतालमा कोरोना संक्रमितको उपचार शुल्क सरकारले नव्यहोर्ने भएको हो ।
असार १४ गतेसम्म निजी अस्पतालमा भर्ना भएका बिरामीको हकमा १० दिनसम्मको शुल्क सरकारले व्यहोर्ने र नयाँ बिरामीको उपचार शुल्क नव्यहोर्ने निर्णय गरिएको सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए ।
सबै निजी अस्पताल तथा मेडिकल कलेजहरूलाई सरकारले तोकेको शुल्कभन्दा बढी नलिई उपचार गर्न गराउनसमेत अनुरोध गरिएको छ ।