धरानमा उपचाररत दुई वृद्धको कोरोना संक्रमणका कारण मृत्यु

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत दुई वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार शनिबार राती झण्डै डेढ घण्टाको अन्तरालमा धरान निवासी दुवै संक्रमितको मृत्यु भएको हो। सहप्रवक्ता डा। पोखरेलले शनिबार राति ११ बजेर ४० मिनेटमा धरान ८ का ८४ वर्षीय वृद्धको मृत्यु भएको बताए।

उच्च रक्तचाप र मधुमेहको समस्याबाट पीडित वृद्धमा असार १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएको ३ दिनपछि १७ गते स्वास्थ्यमा समस्या बढेपछि उनलाई प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो। त्यसैगरी, धरान ८ का ७९ वर्षीय अर्का वृद्धको शनिबार राती साढे १० बजे उपचारका क्रममा मृत्यु भएको हो।

प्रतिष्ठानका सहप्रवक्ता डा। पोखरेलले वृद्धमा उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या रहेको जानकारी दिए।

कोरोनाको आंशकामा वृद्धको असार १४ गते गरिएको आरडिटी परिक्षणमा संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएको २ दिनपछि असार १६ गते उनलाई प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो। प्रतिष्ठानमा हालसम्म २ सय ६० जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।