
काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिट निवेदनमा आज निवेदक पक्षको बहस सकिएपछि एमिकस क्युरीले बहस गर्दैछन् । एमिकस क्युरीको बहससँगै सबै पक्षको बहस सकिदैछ । बहस सकिनै लाग्दा संवैधानिक इजलास भने फैसलाको तयारीमा समेत जुटेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा आज अन्तिम सुनुवाइ हुँदैछ । निवेदक शेरबहादुर देउवा पक्षका कानुन व्यवसायीको जवाफी बहसका लागि छुट्याइएको तीन घण्टा समयमा हिजो आइतबार वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले एक घण्टा बहस गरिसकेका छन् ।



आज बाँकी दुई घण्टा समयमा वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद भण्डारी, शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले बहस गर्दैछन् । कानुन र न्याय क्षेत्रमा गुरुका नामले परिचित ९४ वर्षीय भण्डारीले बहस गर्ने इच्छा जाहेर गरेपछि उनलाई पनि प्रारम्भमै बहस गर्ने समय मिलाइएको छ । त्यसछि आधा घण्टाका दरले सबैले बहस गर्नेछन् ।

निवेदक पक्षको बहसलगतै एमिकस क्युरीको बहस शुरु हुनेछ । अदालतको सहयोगीका रुपमा नेपाल बार एशोसिएसन र सर्वाेच्च अदालत बार एशोसिएसनका तर्फबाट दुई दुई जना गरी चार जना एमिकस क्युरी बहस गर्न लागेका हुन् ।
सर्वोच्च अदालत बार एसोसिएसनको तर्फबाट वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसी तथा नेपाल बार एसोसिएसनको तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकले एमिकस क्युरीको रुपमा बहस गर्दैछन् । पक्ष विपक्षमा नभएर अदालतको सहयोगीको रुपमा निष्पक्ष रुपमा उनीहरुले बहस गर्नेछन् ।
यता एमिकस क्युरीले दुई घण्टा बहस गरेपछि आजै सबै पक्षको बहस सम्पन्न हुनेछ । योसँगै संवैधानिक इजलास सम्भव भए आजै नत्र एक दुई दिनमै आदेश सुनाउने तयारीमा जुटेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित १४६ जना निवर्तमान सांसदले सर्वाेच्चमा निवेदन दिएका थिए ।