झापामा दुर्घटना हुँदा दुईको मृत्यु, दुई गम्भीर घाइते

भद्रपुर – झापाको सदरमुकाम भद्रपुरमा ट्र्याक्टर र अटो ट्याम्पो एक–आपसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा परी भद्रपुर–१ हिमालीचोक निवासी ३८ वर्षीया छविमाया लिम्बू र सोही ठाउँका ४० वर्षीय डम्बरबहादुर लिम्बूको मृत्यु भएको छ ।

गम्भीर घाइते ट्याम्पोचालक भद्रपुर–१ निवासी ४२ वर्षीय वीरबहादुर लिम्बू र ट्याम्पोमा सवार सोही ठाउँका ३२ वर्षीय नरबहादुर लिम्बूको स्थानीय ओम साई पाथिभरा हस्पिटलमा उपचार भइरहेको छ ।

चालक वीरबहादुरको टाउको र खट्टामा चोट लागेको छ, भने नरबहादुरको शरीरका विभिन्न स्थानमा चोट लागेको बताइएको छ । मेची राजमार्गको चारआली–केचना सडक खण्डअन्तर्गत भद्रपुर–२ स्थित सगरमाथा चोकनजिकै हिजो अपराह्न दुर्घटना भएको थियो ।

भद्रपुरबाट बनियानीतर्फ जाँदै गरेको मे १ त २८२१ नम्बरको ट्र्याक्टरसँग विपरीत दिशाबाट आउँदै गरेको मे १ ह ६४१९ नम्बरको ट्याम्पो ठोक्किएको थियो ।

ट्र्याक्टर र ट्याक्टर चालक कचनकवल–३ निवासी ३३ वर्षीय सागरसिंह राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको सीमा प्रहरी चौकी पृथ्वीनगरले  नियन्त्रणमा लिएको ट्राफिक प्रहरी दिलीप राईले जानकारी दिए ।