
रोल्पा । अविरल वर्षाका कारण भिजेको घरको पर्खाल भत्किदा रोल्पामा साढे दुई वर्षीय बालिकाको मंगलबार मृत्यु भएको छ।सुनिल स्मृति गाउँपालिका-१ घोडागाउँ पञ्चीकोटकी समीक्षा घर्तीको ज्यान गएको हो।
मृत्यु हुने बालिका जुठे घर्तीको छोरी हुन्। घरभित्रै खेलिरहेकी समीक्षालाई मंगलबार बिहान पर्खाल भत्केर पुरेको थियो। अभिभावक घरबाहिर काममा रहेको बेला यस्तो दुर्घटना भएको हो।
घटनाको खबर पाएलगत्तै खुंग्रीबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो। केही दिनयता परेको वर्षाले फुसको छानो रहेको घरको पर्खाल भिजेर भत्किएर बालिकाको ज्यान गएको प्रहरीले जनाएको छ।
घटनास्थल सदरमुकाम लिबाङबाट ८ कोष दक्षिणी भेगमा पर्दछ ।