
काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ‘ए’ फुटबलको गोल्डेन बुट अवार्ड जितेका छन् । युभेन्ट्सका स्टार खेलाडी रोनाल्डोले टिमलाई उपाधि दिलाउन नसके पनि गोल्डेन बुट जित्न सफल भए ।
यस सिजन सिरी ए फुटबलमा सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट अवार्ड जितेका हुन् । रोनाल्डोले यस सिजन ३३ खेलमा २९ गोल गरे । उनले ३ असिस्ट समेत गरे । लुकाकुले ३६ खेलमा २४ गोल गरे ।
रोनाल्डोले २९ गोल गर्दा दोस्रो स्थानका रोमेलु लुकाकुले २४ गोल गरेका छन् । उनले भने इन्टरलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले ।
यता, रोनाल्डो युरोपको शीर्ष तीन लिगमा गोल्डेन बुट अवार्ड जित्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् ।
यसअघि, उनले प्रिमियर लिग र ला लिगामा गोल्डेन बुट जितिसकेका छन् । यस्तै रोनाल्डो युरोपको शीर्ष तीन फरक क्लब र राष्ट्रका लागि १०० गोल पूरा गर्ने पहिलो खेलाडी समेतको कीर्तिमान बनाएका छन् । रोनाल्डोले युनाइटेड, रियल र युभेन्ट्सका लागि उपाधि जिताइसकेका छन् ।