
काठमाडौंँ । नेपाली टेलिभिजनमा सबैभन्दा बढी नेपाल टेलिभिजन हेरिने र त्यसमा पनि समाचार तथा हास्य टेलिसिरियल सबैभन्दा बढी दर्शकले मन पराउने गरेको एक सर्वेक्षणले देखाएको छ । सेयर काष्ट इनिसेटिभ नेपालले गरेको मिडिया सर्वेक्षणमा यस्तो दाबी गरिएको हो ।
नेपालमा दैनिक ४२ प्रतिशत नेपालीले टेलिभिजन हेर्ने गरेको सोे अध्ययनको निष्कर्ष छ । गत माघदेखि फागुनसम्म ४२ जिल्लाका १५८ गाउँपालिका र नगरपालिकाको १७२ वडाका चार हजार १२९ घरधुरीमा गरिएको सर्वेक्षणमा यस्तो नतिजा देखिएको हो । सेयर काष्ट इनिसेटिभ नेपालका प्रमुख कार्यकारी अधिकृत मधु आचार्यले स्थलगत रूपमा सर्वेक्षण गरी उक्त तथ्याङ्क सार्वजनिक गरिएको बताउनुभयो ।
सर्वेक्षण सार्वजनिक कार्यक्रममा नेपाल टेलिभिजनका अध्यक्ष डा. महेन्द्र विष्टले यस सर्वेक्षणले नेपाल टेलिभिजनलाई मार्गदर्शन मिलेको भन्दै कमीकमजोरीलाई आगामी दिनमा सुधार गरी अगाडि बढ्ने बताउनुभयो ।