मेलम्ची आयोजनामा १ अर्ब ८८ करोडको क्षति अनुमान

मेलम्ची खानेपानी आयोजनामा बाढीका कारण भएको क्षतिको प्रारम्भिक रूपमा गरिएको अनुमानअनुसार एक अर्ब ८८ करोडको क्षति भएको देखिएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठका अनुसार आयोजनाले चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले हालसालै बनाइसकेको स्थायी बाँधमा सामान्य मात्रै क्षति पुगेको अनुमानमा आधारित भएर क्षतिको पूर्वानुमान गरेको हो ।

बाढीबाट सुरुङ जोगिए पनि आयोजनाको बाँधसहितका बाहिरी संरचना ढुंगा, गिट्टी, बालुवा र माटोले पुरिएका छन् । बनेका संरचनामाथि नै खोला बगिरहेकाले नदी नियन्त्रणको काम पनि प्रभावकारी ढंगले गर्नुपर्ने अवस्था आएको छ ।

बिज्ञापन

आयोजनाको बाँधस्थलको पुन:स्थापनाका लागि के-के गर्न सकिन्छ भनेर प्राविधिक टोली मेलम्चीमै छ । हेलिकप्टरबाट एक्स्काभेटर लगेर नदी नियन्त्रण गर्नेबारे छलफल भए पनि त्यहाँ अहिल्यै गएर काम गर्न जोखिम हुने अनुमान गरिएकाले सम्भव नभएको आयोजनाले जनाएको छ ।

अस्थायी बाँधबाट पानी हाल्दै आएको आयोजनाको डाइभर्सन टनेलमा लेदो भरिएको अनुमान छ । ग्याल्थुम र अम्बाथानको अडिट टनेलमा समेत बाढीले क्षति पुर्याएका कारण सुरुङ खाली गराउन नसकेको आयोजना प्रमुख श्रेष्ठ बताउँछन् ।