
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान सूचना जारी गर्दै देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।




महाशाखाले २४ घन्टे सूचना जारी गर्दै देशका पूर्व, मध्य र पश्चिम क्षेत्रका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । आज हुने वर्षाले देशका पहाडी भूभागमा पहिरो जाने तथा तराईमा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

साथै हवाई तथा सडक यातायातमा समेत सतर्कता अपनाउन भनिएको छ । वर्षा र कम भिजिबिलिटीका कारण हवाइ र सडक यातायातमा अवरोध आउन सक्ने महाशाखाले उल्लेख गरेको छ ।
मनसुन न्यून चापीय रेखा अहिले नेपालको तराई भूभागमा अवस्थित रहेको छ । जसका कारण मनसुनी गतिविधि देशभर सक्रिय अवस्थामा रहेको महाशाखाले उल्लेख गरेको छ ।
बुधबारदेखि भने न्यून चापीय रेखा केही दक्षिणतर्फ सर्ने र यसले वर्षा कम हुने बताइएको छ ।