
काठमाण्डौँ : जापानबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोप नेपाल आइपुगेको छ । जापानले नेपाललाई दिने भनेको १६ लाख डोज एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाण्डौ ल्याइएको हो ।

जापानले कोभ्याक्स परियोजनामार्फत नेपाललाई उपलब्ध गराएको तीन लाख डोज एस्ट्राजेनेका खोप शनिबार काठमाडौं आइपुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जापानले अनुदानमा दिएको कोरोनाविरुद्धको खोपको पहिलो खेप लिएर कतार एयरवेजको विमान शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।



जापान सरकारले कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप दिने प्रतिवद्धता जनाएको छ। त्यसमध्ये आज र भोली गरेर आठ लाख डोज खोप नेपाल आइपुग्दै छ। कोरोनाविरुद्ध पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका नागरिकलाई दोस्रो मात्रा एस्ट्राजेनेकाको खोप दिने निर्णय सरकारले गरेको छ।

गएको फागुन २३ देखि चैत्र १० गतेसम्म कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई जापानले उपलब्ध गराएको खोप दिन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गएको फागुन तेस्रो हप्ता ६५ वर्षमाथिका झण्डै १४ लाख नागरिकले कोभिसिल्डको पहिलो मात्रा लगाएका थिए। पहिलो मात्रा लगाएको १२ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने भनिए पनि भारतले सम्झौताअनुसार १० लाख डोज खोप नदिएपछि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका नागरिक दोस्रो मात्रा लगाउनबाट वञ्चित हुँदै आएका छन् ।