नेपालगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु

भेरी अस्पताल नेपालगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृतक सुर्खेत र दाङ जिल्लाका रहेका छन्।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, सुर्खेत सिम्ता गाउँपालिका वडा नं. ३ का ७१ वर्षीय पुरुष र दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का ५५ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको हो।

सिम्ताका ७१ वर्षीय पुरुषलाई भदौ १ गते पीसीआर गरेर त्यही दिन भेरीमा भर्ना गरिएको थियो। उनको शनिबार राति १२:२० बजे मृत्यु भएको छ।

तुलसीपुरका ५५ वर्षीय पुरुषको साउन २७ गते पीसीआर गरिएको थियो भने २८ गते भेरीमा भर्ना गरिएको थियो।

उनको आइतबार बिहान पाँच बजे मृत्यु भएको छ।

योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा ३ सय ९३ जना संक्रमितको मृत्यु भएको छ।