आज श्रीकृष्ण जन्माष्टमी, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं- वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यसदिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

तर, कोरोना भाइरसको महामारीका कारण यस वर्ष पनि अघिल्लो वर्षझैँ मठमन्दिर खुलेका छैनन् । तथापि यो वर्ष पनि भक्तजनहरु मन्दिरका गेटसम्म पुगेर भगवान श्रीकृष्णको दर्शन गरिरहेका छन् । कयौँले घरमै भगवान श्रीकृष्णको पूजाआजा गरिरहेका छन् ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको धार्मिक विश्वास छ ।

कृष्णजन्माष्टमीमा यस वर्ष सरकारले सार्वजनिक बिदा दिएको छ । २०६४ सालपछि कटौती गरिएको कृष्णजन्माष्टमीको बिदा फेरि दिइएपछि सनातन धर्मावलम्बीले सरकारप्रति कृतज्ञता व्यक्त गरेका छन् ।