
ललितपुर: जिल्लाको तिखेदेवलस्थित ‘फिट एन्ड फाइन एरोबिक फिटनेस’को बाथरुममा नुहाउन पसेका श्रीमान-श्रीमतीको निस्सासिएर ज्यान गएको छ ।उक्त हेल्थ क्लबको ‘साउना बाथ’मा नुहाउने क्रममा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा हस्त गर्बुजामगर (४२) र उनकी श्रीमती नेत्रकुमारी (३९) रहेको ललितपुर महानगरीय प्रहरीले जानकारी दिएको छ ।तातोपानी भएको साउना बाथरुममा रिल्याक्स गर्न भनी पसेका सो दम्पती धेरैबेरसम्म ननिस्किएपछि बाथरुमको ढोका फोडेर हेर्दा उनीहरू बेहोस अवस्थामा भेटिएका थिए । बेहोश अवस्थामा भेटिएका उनीहरुको तत्काल उद्धार गरी पाटन अस्पताल पुर्याइएको थियो । तर चिकित्सकले उनीहरूलाई तत्कालै मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।बढी समय बाथरुमभित्रै रहेकाले अक्सिजनको अभाव हुन गई सो घटना हुन पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।हस्त गर्बुजामगर पूर्वमहिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाका स्वकीय सचिव भएको अनुसन्धानबाट खुलेको छ ।




