राष्ट्रिय परीक्षा बोर्डले सरकारले अनुमति दिएलगत्तै कक्षा १२ को परीक्षा सञ्चालन गर्न तयारी

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले सरकारले अनुमति दिएलगत्तै कक्षा १२ को परीक्षा सञ्चालन गर्न तयार रहेको जनाएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ( सीसीएमसी ) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति पाएलगत्तै परीक्षा लिने गरी तयारी अवस्थामा रहेको बोर्डका कक्षा ११ र १२ हेर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए। कोरोना भाइरस संक्रमणकै बीच त्रिभुवन विश्वविद्यालयका परीक्षा नियमित रूपमा सञ्चालन भए पनि कक्षा १२को परीक्षा भने स्थगित भएको थियो ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थीले पूर्ण रूपमा खोप लगाउन पाएको अवस्थामा परीक्षा निर्वाध रूपमा सञ्चालन हुन सक्ने विश्वास आफूहरूमा रहेको उनको भनाइ छ। अनुमति पाएपछि १५ दिनको सूचना दिएर परीक्षाको कार्यतालिका निकाल्ने योजना बोर्डले बनाएको छ। संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक रूपमै सञ्चालन गर्न शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्रालयलाई निर्देशनसमेत दिइसकेको अवस्थामा आफूहरू भौतिक रूपमै परीक्षा लिने योजनामा रहेको उनले बताए।

कक्षा १२ पछि उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी विदेशी विश्वविद्यालयमा समेत पुग्ने भएकाले भौतिक रूपमै परीक्षा लिनुपर्छ भन्ने बोर्डको नीति रहेको परीक्षा नियन्त्रक शर्माको भनाइ छ। यस वर्ष कक्षा १२ को परीक्षा दुईपटक स्थगित भइसकेको छ। साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने भनिए पनि अन्तिम समयमा आएर रोकिएको थियो। यसअघि वैशाख २६ गतेबाट सञ्चालन गर्नेगरी प्रकाशित गरिएको परीक्षाको कार्यतालिका पनि रोकिएको थियो।