
काठमाडौँ : गएरातिको अविरल वर्षाले काठमाडौं उपत्यकामा ३८५ घर डुबानमा परेका छन् । २४७ जनाको उद्धार गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले काठमाडौंको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुम्बासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुललगायतको क्षेत्र डुबानमा परेको जानकारी दिए।

काठमाडौंबाट २३२ र ललितपुरबाट १५ मजदुरको उद्धार गरिएको उनले बताए । विशेष गरी नदीको वरपरका क्षेत्र डुबानबाट प्रभावित भएको जनाइएको छ । अहिलेसम्म डुबानबाट मानवीय क्षति नभएको प्रहरीको भनाइ छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पशुपतिको गुह्वेश्वरी क्षेत्र, अनामनगर, शंखमुल, घट्टेकुलो, बानेश्वरका केही क्षेत्र पनि जलमग्न भएको छ ।



भारी वर्षा हुँदा सो क्षेत्र विगतमा पनि जलमग्न बन्ने गरेको थियो । बागमती किनार क्षेत्रमा सुकुम्बासी बस्तीहरुमा बाढी पसेको छ । वर्षापछि बागमतीमा ठूलो बाढी आउँदा किनारका बस्तीमा बाढी पसेको हो । यस्तै अविरल वर्षाले बागमतीको किनारमा रहेको गोकर्णेश्वर महादेव मन्दिर र उत्तरगया क्षेत्र डुबानमा परेको छ । मन्दिरमुनिको चौर डुबानमा परेपछि दिवंगत पितृका नाममा भाद्रकृष्ण औँसीमा श्राद्ध गर्न आउने भक्तजन प्रभावित भएको गोकर्णेश्वर नगरपालिका-४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए ।

गोकर्णेश्वर महादेव मन्दिरबाट उत्तरवाहिनीसम्म अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्माण गरेको सिँढी भरिएर बाहिर पानी आउँदा यो क्षेत्र डुबानमा परेको हो । पानीसँगै आएको बाढीले यस क्षेत्रको सडक पनि बिगारेको छ । जोरपाटी सुन्दरीजल सडक विस्तारका क्रममा ठाउँ ठाउँमा अलपत्र रहेको भाग बाढीले प्रभावित भएको छ । अधिकांश भित्री सडक जलमग्न भएको छ । गोकर्णमुनिको बागमती किनार क्षेत्रसमेत ठाउँ ठाउँमा डुबानमा परेको छ ।
यसै गरी रुद्रमतीमा आएको बाढीले रातोपुल मैतीदेवी क्षेत्रका केही घरसमेत डुबानमा परेका छन् । आइतवार रातिदेखि सोमबार बिहानसम्मको वर्षाले उपत्यकाका धेरै स्थान प्रभावित भएको छ ।