सामुहिक हत्याकाण्डः ‘तेजबहादुरलाई मात्र मार्न खोजेको थिएँ, अरूले देखेपछि सबै सिध्याएँ’

काठमाडौंः संखुवासभा सामुहिक हत्याकाण्डमा ज्यान गुमाएका ५२ वर्षीय तेजबहादुर कार्की गत सोमबार धान गोड्ने तयारीमा थिए। त्यसका लागि खेताला लिन उनी बिहान पाँच बजेतिर घर मास्तिरको बाटो हुँदै उकालो लागेका थिए।

तर जुन घरबाट खेताला बोलाउन जान लागेका थिए, त्यही घरका २६ वर्षीय लोकबहादुर कार्कीले बाटोमै उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ। जिल्ला प्रहरी कार्यालय, संखुवासभाका अनुसार मृतक तेजबहादुर दुई सय मिटर मास्तिरका भतिजो नाता समेत पर्ने छिमेकी लोकबहादुरको घरमा उनका दुई दाजुभाइलाई लिन गएका थिए।

तर बाटोमै टाउको पछाडिबाट हिर्काएर तेजबहादुरको हत्या भएको खुलेको प्रहरीले बताएको छ। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन्। तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको भनेका छन्। कराउन थालेपछि आत्तिएका उनले घरतिर समेत गएर सबैको हत्या गरेको साबिती बयान दिएको प्रहरीले जनाएको छ। यस विषयमा आइतबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी सार्वजनिक गर्ने प्रहरी तयारी छ।