
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबाट सत्ता कब्जाको कोसिस भइरहेको बताएका छन्। ‘ओलीबाट सत्ता कब्जाको कोसिस भइरहेको छ,’ नेपाल निजामती कर्मचारी युनियन संघको शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय भेलामा उनले भने, ‘उनले चाहेर पनि सत्ता कब्जा हुँदैन।’
देउवाले प्रधानमन्त्री ओलीलाई हटाउन सबै लाग्नुपर्ने बताए। ‘उनलाई हटाउन हामी सबै लागौं,’ देउवाले भने। चुनावमा जानुपर्ने स्थिति पनि आउन सक्ने भएकोले तयार रहन उनले आग्रह गरेका थिए। ‘चुनावमा त हामी जानैपर्छ। चुनावमा जाने बाध्यता हुन सक्छ,’ उनले भने, ‘जनता मालिक हो। जनताको घरदैलोमा पुगौं। जनताको दिल जितेपछि चुनाव जितिन्छ।’
जनताले भोट नदिएकैले गएको निर्वाचनमा कांग्रेसले हारेको उनले बताए। दुई कम्युनिष्ट पार्टी मिलेकोले जनताले पनि उनीहरूलाई नै भोट दिएको देउवा बताउँछन्। ‘अब जनताले बुझिसके, हामी एक भएर जाने हो भने एक नम्बरको पार्टी बन्छौं,’ उनले भने।