
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले हिजो बेलुका जेनेभाको स्थानीय समय अनुसार ४:०० बजे ( नेपाली समय अनुसार ७:३० बजे ) जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को ४८ अौँ सत्रको समानान्तर कार्यक्रमलाई संबोधन गर्दै इन्डियाले जयसिंह धामीको हत्या गरेको , सैनिक हेलिकप्टर नेपालको आकाशमा उडान गरेर नेपालको सार्वभौमसत्तामा आच पुर्याएको र नेपालको करिब ६०००० वर्ग किलोमिटरभन्दा बढी जमिन उपनिवेश बनाएको आरोप लगाएका छन् ।

Indian Hegemonic Designs Against Nepal भन्ने विषयमा भएको जूम वेबिनारमा उनले दार्चुलाका जयसिंह धामीको हत्या इन्डियाको एसएसबीले तुइनको लट्ठा खोलिदिएका कारणबाट भएको र यसबाट मानवअधिकारको चरम रूपमा हनन भएको कुरा जोडदार रूपमा उठाएको बताएका छन् । जानीजानी मान्छे मार्ने अपराध गरेर इन्डियाले मानवअधिकारको खिल्ली उडाएको भन्दै उनले जयसिंह धामीको परिवारलाई हालसम्म कुनै क्षतिपूर्ति नदिएको उल्लेख गरेका छन् ।



यसका साथै उनले इन्डियाले नेपालको जमिनमात्र मिचेको होइन नेपाली आकाशमा समेत अनधिकृत रूपमा प्रवेश गरेर नेपालको सार्वभौमसत्ताको सम्मान नगरेको बताएका छन् । नेपाली सेनाको ब्यारेकमाथि सैनिक हेलिकप्टर उडाएर इन्डियाले सैनिक आतङ्क मच्चाउन खोजेको आरोप पनि लगाएका छन् । उनले उक्त कार्यक्रममा ग्रेटर नेपालको आवाज पनि उत्तिकै प्रमुखताका साथ उठाएको बताएका छन् ।
