
काठमाडौँ : सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज सबै प्रदेशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा गण्डकी र सुदूरपश्चिमको एक दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ ।
मौसममा आएको बदलीका कारण धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् । अहिले बिहान सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराई भूभागमा आंशिक बदली रहेको छ । आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
हाल नेपालमा भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको मौसमविद्ले जानकारी दिएका छन् । वर्षाका कारण स्थानहरूका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।