
चितवन । गैंडा मारेर तस्करी गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जले तस्करीको आरोपीलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । गैंडा तस्करमा संलग्न १७ मध्ये ८ जनालाई पक्राउ गरेको हो ।
गैंडाको खाग तस्कर गरेको आरोपमा एकै घरका तीन जना पक्राउ परेका छन् । मकवानपुरको मनहरी गाउँपालिका–४, मसिने टोंग्राङ खोलाका ३० वर्षीय जयबहादुर प्रजा, ३६ वर्षीय सिंहराम प्रजा र सुरेश प्रजा रहेका छन् । उनीहरुले गत साउन साउन ३२ देखि भदौ १० गतेसम्म गैंडा मारेर खाग बिक्री गरेका निकुञ्जको आरोप छ । अझै ९ जना फरार रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।
त्यस्तै निकुञ्जले नवलपुरको गैंडाकोट–१ का ३२ वर्षीय गोपाल सारु, धादिङको बेनिघाट रोराङ गाउँपालिका–१ बस्ने ३५ वर्षीय रामकुमार श्रेष्ठ, मकवानपुरको साविक सरीखेत गाउँपालिका ९ का २९ वर्षीय करण मोक्तान भन्ने करण प्रजा, मनहरी–४ नयाँबस्ती बस्ने २७ वर्षीय सरोज मुक्तान र चितवनको माडी नगरपालिका–७ देवेन्द्रपुरका यादव भन्ने राजन गुरुङलाई पक्राउ गरेका छन् ।
उनीहरु विरुद्ध चितवन जिल्ला अदालतमा २ वटा मुद्दा दायर गरिएको निकुञ्जले जनाएको छ । निकुञ्जले यही वर्ष गैंडाको चोरीतस्करी मुद्दामा १४ जना पक्राउ गरेको थियो ।