
जाजरकोट- जाजरकोट–डोल्पा सडकखण्डको सदरमुकाम खलङ्गामा एक हप्तादेखि सडक अवरुद्ध भएको छ ।

वर्षेनी भत्कने रेडक्रस नजिकैको यो सडक वर्षेनी मर्मत गरिए पनि दिगो र भरपर्दो निर्माण नहुँदा लाखौँ रकम खर्चने मात्र काम भएको छ । थाप्ले, ठाँटीलगायतका ठाउँको ढल सोही ठाउँमा जम्मा हुँदा सडक भत्कने मुख्य कारण बन्दै आएको छ । पूर्वी जाजरकोट, डोल्पा र रुकुम पश्चिममा यातायातका साधन वैकल्पिकरूपमा चलाउनका लागि प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाको सहजीकरणमा नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष कमान खड्का र सडक विभाग चौरजहारीले सडक मर्मतपछि पासागाड–कालेगाउँ सडक सञ्चालन गरिएको छ ।



मथिल्लो बाटो भएर जाजरकोट डोल्पा, रुकुमपश्चिम जाने स्थानीयवासी मात्र नभई सदरमुकामबाट सामग्री ढुवानीमा समेत गाह्रो हुँदै आएको छ । भौतिक पूर्वाधार विकास कार्यालय, सडक डिभिजनको सहयोगमा भेरी नगरपालिकाले सो सडक निर्माण गर्ने भनिए पनि अहिलेसम्म सुरु गरिएको छैन । सदरमुकाममै हप्ता दिनदेखि सडक अवरुद्ध हुनु र निर्माण ढिलासुस्ती हुँदा सर्वसाधारण मर्कामा परेका छन् ।

यो सडक दिगो बनाउनका लागि ढल विकास र नाला परिवर्तन गर्नुपर्ने स्थानीयवासी दीपबहादुर घर्तीले बताए । पछिल्लो समय खलङ्गा सदरमुकाम नै नहुने ठाउँमा बनाएको भन्दै चर्चा हुन थालेको छ ।
एकै ठाउँमा झण्डै छपटकसम्म सडक भत्किनु नै अचम्म भएको सर्वसाधारण बताउँछन् । अघिल्लो आर्थिक वर्ष मात्र झण्डै रु २५ लाख खर्च भएको थियो । अहिलेसम्म मर्मतमा खर्च भएको रकम जोड्दा रु करोडमाथि नै पुगेको भेरी नगरपालिकाका प्राविधिक बताउँछन् ।