एमाले विधान महाधिवेशनमा समूहगत छलफल : पदाधिकारीको संख्याप्रति असन्तुष्टि

काठमाडौँ : नेकपा एमालेको जारी विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलद्वारा प्रस्तुत भएको विधान संशोधन प्रस्तावमा प्रस्तावित पदाधिकारीको संख्याप्रति सहभागीहरुले असन्तुष्टि जनाएका छन् । बिहान साढे ८ बजेदेखि जारी समूहगत छलफलमा विभिन्न समूहमा पदाधिकारीको संख्याका सन्दर्भमा असन्तुष्टि देखिएको हो ।

पौडेलद्वारा प्रस्तुत प्रस्तावमा अध्यक्ष– १, उपाध्यक्ष– ५, महासचिव– १, सचिव– ६ गरी २२५ सदस्यीय केन्द्रीय कमिटी बनाउने उल्लेख छ। तर, उपाध्यक्ष र सचिवको संख्याको औचित्यप्रति सहभागीहरुले प्रश्न उठाएका हुन् ।

यो प्रदेश अनुसार पनि नभएको र त्यो समावेशी पनि नभएको बताएका हुन् । बरु उपाध्यक्ष ७ जना बनाउँदा प्रदेश अनुसार हुने कुरा छलफलमा उठेको बताइएको छ । यसअघि केन्द्रीय कमिटीमा पनि सो दस्तावेजमाथि छलफल हुँदा विभिन्न समूहले उपाध्यक्षको संख्या ७ पुर्याउन सुझाव दिएका थिए ।