
काठमाडौं । काठमाडौंस्थित हनुमानढोका भित्र्याउने फूलपाती गोरखादरबारको दसैंघरबाट पठाइएको छ ।
गोरखा दरबारबाट लगिएको फूलपाती हनुमानढोकामा भित्राएपछि दसैं भित्रिएको भन्ने प्रचलन छ ।
हनमानढोका पठाउन तथा गोरखा दरबारको दसैंघरमा फूलपाती भित्राउन मंगलबार बिहानै गोरखा दरबारका सुसारेहरुले अमराइ, ठूलो वन लगायतका जंगलबाट नौ प्रकारका फूलपाती संकलन गरेका थिए ।
बा २ झ २१२९ नम्बरको गाडीमार्फत हनुमाढोकामा भित्राउन फूलपाती पठाइएको हो ।
वर्षौदेखिको परम्परालाई निरन्तरता दिँदै फूलपाती काठमाडौं पठाइएको गोरखा दरबारका पुजारी शारदाप्रसाद भट्टराइले बताए ।
‘हिजो बेल निमन्त्रण ग¥यौँ, आज बिहान सुसारेहरुले बिहानै पस्लाङको जंगलबाट फूलपाती संकलन गर्नुभयो,’ उनले भने, ‘वर्षौदेखिको परम्परा अनुसार हनुमानढोकाका लागि फूलपाती पठायौं ।’
धिमेबाजा, फूलपातीको डोलीसहितको टोली हर्षोल्लासका साथ फूलपाती काठमाडौं पठाइएको छ ।
पहिले एकीकरण पदमार्गबाट काठमाडौं पु¥याइने फूलपाती सडकसञ्जाल विस्तार भएसँगै गाडीमार्फत पठाउने गरिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुषालले बताए ।
पृथ्वीनारायण शाहले नुवाकोट हुँदै राजधानी हनुमानढोका सारेपछि गोरखाको फूलपाती हनुमानढोका पठाउने प्रचलन सुरु भएको मानिन्छ । ‘दुई सय ६६ वर्ष अघिदेखि यो प्रचलन सुरु भएको अनुमान छ,’ भुषालले भने ।