रुपन्देहीको मोतीपुर क्षेत्रमा कर्फ्यु हट्यो

काठमाडौं । रुपन्देहीको मोतीपुर क्षेत्रमा लगाइएको कर्फ्यु हटेको छ ।त्यस क्षेत्रमा प्रहरीको गोली लागेर चार जनाको मृत्यु भएपछि कर्फ्यु लगाइएको थियो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले स्थिति सामान्य भएपछि गएराति १२ बजेदेखि कर्फ्यु हटाइएको जानकारी दिए ।आइतबार स्थानीय र प्रहरीबीच मोतीपुर क्षेत्रमा झडप भएको थियो । सोही झडपमा प्रहरीले गोली चलाउँदा चार जनाको मृत्यु भएको हो ।

झडपमा प्रहरीसहित ८० जना घाइते भएका थिए । स्थिति असामान्य बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गरेको थियो ।औद्योगिक क्षेत्रको अतिक्रमित जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा सुरक्षाकर्मीमाथि ढुंगामुढा र पेट्रोल बम प्रहार भएपछि बल प्रयोग गर्नु परेको प्रशासनले जनाएको छ ।