
काठमाडौँ : गत आइतबारदेखि सुरु भएको बेमौसमी भारी वर्षा आज (बिहीबार)देखि सुधार हुने मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान माशाखाका मौसमविद् वरुण पौडेलका अनुसार मौसममा आजदेखि सुधार भइसकेको छ । लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा आज सामान्य वर्षा हुने सम्भावना छ भने पश्चिम नेपालबाट मौसममा सुधार हुँदै आएकाले मौसममा सुधार भइ देशका धेरै स्थानमा घाम लाग्ने सम्भावना रहेको पौडेलले बताए ।
मनसुन सकिएपछि ‘पोस्ट मनसुन’ सुरु हुने भएकाले यस्तो खालको भारी वर्षा एकाध वर्ष बिराएर हुने गरेको मौसमविद् पौडेलको भनाइ छ । यसअघि पनि सन् २०१४ मा ’पोस्ट मनसुन’ हुदहुद आँधी आउँदा यस्तै वर्षा भएको उनले स्मरण गराए । अहिले भएको भारी वर्षालाई पनि पोस्ट मनसुनमा हुने वर्षाको रुपमा लिनुपर्ने मौसमविद् पौडेल बताउँछन् ।
तर, वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले जलवायु परिवर्तनसँगै ग्लोबल फेनोमेनामा आएको परिवर्तनले भारी वर्षा भएको बताए । विश्वव्यापी रुपमा आएको जलवायु परिवर्तनले यस्तो अतिवृष्टि तथा अनावृष्टि हुने गरेको शाक्यले बताए । यस्तो अवस्थामा मौसमको पूर्वानुमानलाई ध्यान दिएर सतर्कता अपनाएमा ठूलो जनधनको क्षति हुनबाट जोगिने उनको भनाइ छ ।
मनसुन सकिएको घोषणा भएको हप्ता दिन नबित्दै सुरु भएको भारी वर्षाले ठूलो जनधनको क्षति भएको छ । गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार बाढीपहिरो तथा डुबानमा परी ७७ जनाको मृत्यु भएको छ। अझै २७ जना बेपत्ता छन् । निरन्तर चार दिनसम्मको भारी वर्षाले भित्र्याउन ठिक्क पारेको धानबाली डुबाउनुका साथै धेरै कृषकको धानबाली बगाएको छ ।
दशैं मनाइरहेको अवस्थामा भारी वर्षा हुँदा सुदूरपश्चिम, लुम्बिनी, प्रदेश १, बागमती प्रदेश लगायतका १९ जिल्ला धेरै प्रभावित भएका छन् । अझै गृह मन्त्रालयले जनधनको क्षतिको विस्तृत तथ्याङ्क ल्याउन सकेको छैन ।