सिरिया सरकारले गरेको हवाई आक्रमणमा परि २६ बालबालिका सहित एक सयजनाको मृत्यु

काठमाडौं । सिरिया सरकारले पछिल्लो १० दिनमा गरेको आक्रमणमा परि एक सयभन्दा बढी गैरसैनिकको मृत्यु भएको छ । सरकारी सेनाले अस्पताल, विद्यालय, बजार र बेकरीमा गरेको आक्रमणमा ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको हो ।

 

संयुक्त राष्ट्र संघकी मानवअधिकार प्रमुख मिचेल बचेलेटले सरकार र रुससहितका उसका साझेदारले गरेको कठोर हमलामा २६ बालबालिकासहित एक सयभन्दा बढीको मृत्यु भएको बताए । रुसले भने नागरिक बस्ने ठाउँमा आफूहरुले हवाई आक्रमण नगरेको जनाएको छ ।

 

राष्ट्रसंघकी मानव अधिकार प्रमुख मिचेल बचेलेटले स्पष्ट अन्तर्राष्ट्रिय मतभिन्नतालाई त्यस्तो अवस्था सिर्जना हुनुको कारण भएको बताइन् । उनले हवाई हमलामा सर्वसाधारण नागरिक पर्नु विश्वका शक्तिशाली राष्ट्रको नेतृत्वको असफलता भएको बताइन् ।

 

सिरिया सरकारले भने अल कायदासँग जोडिएका जिहादीले युद्धविराम उल्लंघन गरेकाले कारबाही गर्नुपरेको जनाएको छ ।