
काठमाडौं । गृह मन्त्रालयको हिजो बेलुकासम्मको तथ्याङ्कअनुसार बेमौसमी वर्षापछिको बाढीपहिरामा परी देशभर मृत्यु हुनेको सङ्ख्या १ सय ४ पुगेको छ भने ४१ जना घाइते छन्, ४३ जनाको अवस्था अज्ञात छ ।

बाढी पहिराले सबैभन्दा बढी मानवीय क्षति प्रदेश १ मा भएको छ । पाँचथरमा २८, इलाममा १४, धनकुटामा ७, सुनसरीमा ८, उदयपुरमा २ र मोरङ, सोलुखुम्बु र भोजपुरमा १-१ जना गरी प्रदेशभर ६१ जनाको मृत्यु भएको छ ।



२० जना घाइते र १३ जना अझै बेपत्ता छन् । सुदूरपश्चिम प्रदेशमा ३१ जनाको मृत्यु, १७ जना घाइते र २३ जना हराइरहेका छन् । डोटीमा मात्रै १६ जनाको मृत्यु र ११ जना घाइते भएका छन् ।

बझाङमा हालसम्म ८ जनाको शव भेटिएको छ । २१ जनाको अवस्था अज्ञात छ । यसैगरी, कर्णालीमा ७, लुम्बिनीमा ३,वाग्मतीमा १ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । बाढीका कारण देशभर २ हजार २ सय ३२ घर डुबानमा परेको प्रहरी प्रधान कार्यालयको तथ्याङ्क छ ।
कार्यालयका अनुसार ४९ घर, ८ गोठ, ६ पुल र ३ सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ३९ पशुचौपाया मरेका छन् । विपद्का घटनाबाट १ हजार १ सय ७७ परिवार विस्थापित भएका छन् ।