
सिमकोट । कर्णाली प्रदेश सरकारले बाढीपहिरो पीडितलााई राहत उपलब्ध गराउने भएको छ ।
कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषदको शुक्रबार बसेको बैठकले अन्नबालीमा भएको क्षतिको विवरण संकलन गरी कृषकलाई क्षतिपूर्तिको व्यवस्था मिलाउने निर्णय गरेको हो ।
त्यसैगरि विपदबाट पूर्ण रूपमा क्षति भएका घरको विवरण संकलन गरी संघीय र स्थानीय सरकारसँगको समन्वयमा पुनःनिर्माण गर्ने निर्णय पनि प्रदेश विपद व्यवस्थापन परिषदले गरेको छ ।

विपदका कारण क्षतिग्रस्त विद्यालय भवन र स्वास्थ्य चौकीका भवनको लगत संकलन गरी पुनःनिर्माणको व्यवस्था मिलाउने, बाढीपहिरो लगायतको विपदमा परी मृत्यु भएकाका परिवारलाई प्रदेश सरकारले गरेको सामुहिक विपद दुर्घटना बीमाबाट प्राप्त हुने २ लाख रूपैयाँ तत्काल उपलब्ध गराउने निर्णय पनि परिषद्ले गरेको छ ।
यस्तै विपदमा परी घाइते भएकाको उपचार खर्च पनि कर्णाली प्रदेश सरकारले व्यहोर्ने भएको छ ।



विपदका कारण अवरूद्ध सडक, पुल, खानेपानी, सिँचाइ तथा विद्युत पूर्वाधारको मर्मत सम्भार गरी तत्काल सुचारू गर्ने निर्णय प्रदेश विपद् व्यवस्थापन परिषदले गरेको छ ।
