भूमिहीनको व्यवस्थापन हुन्छ : मन्त्री श्रेष्ठ

चितवन : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइरहेको बताएकी छन् । मंगलबार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिलेसम्म मन्त्रालयमा औपचारिक कार्यक्रम बाहेक केही नभएको भन्दै गरिबी निवारणका लागि योजना वनाएर काम गर्ने बताइन् ।‘गरिबी निवारणका लागि औपचारिक कार्यक्रम बाहेक केही नभएको रहेछ । अहिले योजना बनाउने काम भइरहेको छ,’ उनले भनिन् ।

गरिबी निवारण कसरी गर्न सकिन्छ भन्ने विषयमा कर्मचारीहरुले कार्ययोजना बनाइरहेको उनले जानकारी दिइन् । फरक प्रसंगमा मन्त्री श्रेष्ठले सुकु्म्बासी समस्या समाधानका लागि संविधान अनुरुप गरिने कार्य गरिने बताइन् ।

‘जनताले संविधानप्रदत्त अधिकार प्रयोग गर्न पाउनुपर्छ,’ उनले भनिन् । लामो समयदेखि सुकुम्बासी समस्या रहेको जनाउँदै उनले भूमिहीन जनताको छिटो व्यवस्थापन गर्ने प्रतिबद्धता जनाइन् ।