बूढीगंगामा ज्वरोका बिरामी बढे

बाजुरा : जिल्लाको बूढीगंगा नगरपालिकामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । मौसम परिवर्तनसँगै स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् । बेमौसमी वर्षासँगै भएको मौसम परिवर्तनका कारण भाइरल ज्वरोका बिरामी बढ्न थालेको सोही नगरपालिका–२ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र ताँप्राकी स्वास्थ्य सहायक आशा थापाले जानकारी दिए।

उनका अनुसार स्वास्थ्य संस्थामा दैनिकरूपमा १०–१५ जनाभन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेको र कतिपय बिरामीलाई घरमै गएर उपचार गर्ने गरेको बताए । मौसम परिवर्तनसँगै र चिसो बढ्न थालेपछि भाइरल ज्वरोका बिरामी स्वास्थ्य संस्थामा बढ्न थालेको अहेव थापाले बताए । अहिले स्वास्थ्य संस्थामा रुघाखोकी, ज्वरो, टाउको दुख्ने, हातखुट्टाका जोर्नी दुख्ने, झाडा पखाला लाग्ने वान्ता हुने लगायतका बिरामी आउने गरेको थापाको भनाइ रहेको छ । भाइरल ज्वरोका बिरामी गाउँमा बढ्न थालेपछि महिला स्वयंसेविका र महिला समूहले सचेतना जगाउँदै आएको अहेव थापा बताउँछन् ।

बूढीगंगा नगरपालिकामा भाइरल ज्वरोका बिरामी बढेका भए पनि औषधिको अभाव भने नभएको स्वास्थ्य शाखाले जनाएको छ । दैनिकरूपमा भाइरल ज्वरो लगायतका बिरामीको स्वास्थ्य संस्थामा चाप बढ्दै गएको भए पनि उनीहरूको उपचार र सेवन गर्ने औषधि पर्याप्त मात्रामा रहेको बूढीगंगा स्वास्थ्य शाखाका सहसंयोजक हस्तबहादुर खडायतले बताए । बिरामी बढी आउने गरेको खबरपछि स्वास्थ्य शाखाले आवश्यक औषधि पठाएको सहसंयोजक खडायतले बताए । चिसो मौसम बढेपछि रुघाखोकी, ज्वरो, निमोनिया, दमका बिरामी आउने गरेको त्रिवेणी नगरपालिका–९ मा रहेको पैमा आधारभूत स्वास्थ्य केन्द्रकी स्वास्थ्य सहायक सीता खत्रीले बताइन् ।