
सिमकोट: हुम्लाको मध्य भागमा रहेको सर्केगार्ड गाउँपालिकामा आइतबारदेखि ताला लगाइएको छ। बाल विकास केन्द्रका सहजकर्ता र विद्यालयका कर्मचारीको बढेको तलब नदिएको भन्दै कर्मचारीले गाउँपालिका ताला लगाएका हुन् । गाउँपालिका बाल विकासका सहजकर्ता र कर्मचारीको तलब वृद्धिका लागि गम्भीर नदेखिएपछि आइतबार बेलुकाबाट ताला लगाएको प्रगति प्राविका सहजकर्ता रुप्सी छत्यालले बताइन्।

सर्केगाड गाउँपालिकाले वृद्धि भएको तलब नदिएको भन्दै सबै सहजकर्ता र विद्यालयका कर्मचारी मिलेर तालाबन्दी गर्नुपरेको छत्यालले बताइन्। जिल्लाका अधिकांश गाउँपालिकाले आन्तरिक स्रोतबाट व्यवस्था हुने गरी बाल विकासका सहजकर्ता र विद्यालयका कर्मचारीलाई तलबको व्यवस्था गरेको अवस्थामा सर्केगार्डले उक्त व्यवस्था नगरेकाले दबाब दिन कठोर कदम चाल्नुपरेको दुधकण्ड प्रावि रोडिकोटका बाल विकासका सहजकर्ता हाँसबहादुर छत्यालले बताए। सर्केगार्ड गाउँपालिकामा ३२ वटा विद्यालय छन् ।



यसमा चार वटा मावि र २८ वटा प्राथमिक तथा आधारभूत विद्यालय छन् । आधारभूत र प्राथमिक सबै विद्यालयमा बाल विकासका कक्षा सञ्चालन हुँदै आएका छन्। बत्तीस जना विद्यालय कर्मचारी र बाल विकासका गरी ६० जनाले आन्दोलित भएका छन्।
