निक्षेपको ब्याजदर बढ्यो : अधिकांश बैँकको दोहोरो अङ्कमा

नेपाल राष्ट्र बैंकको एकल अङ्कमा निक्षेप ब्याजदर कायम गर्ने प्रयास अन्ततः असफल भएको छ। वाणिज्य बैंकहरूले मंगलबार सार्वजनिक गरेको सूचनामा मङ्सिरमा लागू हुने निक्षेपको ब्याजदर वृद्धि गरिएको छ।

अधिकांश वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर दोहोरो अङ्कमा दिने घोषणा गरेका छन्। धेरैले मुद्दती निक्षेपमा १०.०५ प्रतिशत ब्याजदर दिने सूचना सार्वजनिक गरेका छन्। निक्षेपको ब्याजदर वृद्धि भएसँगै कर्जाको ब्याजदर पनि वृद्धि हुने देखिएको छ। उद्योगी, व्यवसायीको दबाब लगायत कारणले केन्द्रीय बैंकले निक्षेपको ब्याजदर साढे नौ प्रतिशत वरिवरि कायम गर्नुपर्ने प्रयास गरेको थियो।

बिज्ञापन

तर निक्षेप सङ्कलन हुन छाडेका कारण र निक्षेपकर्तालाई आकर्षित गर्नुपर्ने भएकाले ब्याजदर केही बढाइएको बैंकका प्रमुख कार्यकारी अधिकृतहरू(सिइओ)बताउँछन्।

यद्यपि नयाँ ब्याजदर सार्वजनिक गर्नुअघि वाणिज्य बैंकका सिइओहरूबीच ब्याजदर बढाउने÷नबढाउने विषयमा विवाद देखिएको थियो। केही सिइओले अहिले नै दोहोरो अङ्कमा ब्याजदर पुर्‍याउन नहुने धारणा राखेका थिए भने केहीले ब्याजदर वृद्धि गर्न जरूरी रहेको तर्क गरेका थिए।

राष्ट्र बैंकले दिएको सुविधा प्रयोग गर्दै अन्ततः बैंकहरू अघिल्लो महिनाको तुलनामा १० प्रतिशत हाराहारी ब्याजदर वृद्धि गर्न राजी भएका हुन्। ब्याजदर सार्वजनिक गरेकामध्ये स्ट्यान्डर्ड चार्टर्ड, मेगा र राष्ट्रिय वाणिज्य बैंक बाहेक अन्यको मुद्दतीमा अधिकतम ब्याजदर १०.०५ प्रतिशत रहेको छ ।