
काठमाडौँ : नेपाल बार एसोसिएसनलगायत विभिन्न पेसागत संगठनको सहभागितामा आज (बिहीबार) सर्वोच्च अदालतदेखि बालुवाटारसम्म ‘मार्चपास’ हुँदैछ। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध हुने उक्त मार्चपासमा सबै पेसागत संगठनका साथै सर्वसाधारणको पनि सहभागिता रहने छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै दबाव स्वरुप सर्वोच्च अदालतको गेटबाट बालुवाटारसम्म मार्च पास गरिन लागेको हो ।
बिचौलियाराजको विरोधमा जवाफदेही लोकतन्त्रका निम्ति भन्दै नेपाल बार एसोसिएनस, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ, आदिवासी जनजाति महासंघ र बृहत् नागरिक आन्दोलनको संयुक्त आह्वानमा मार्चपास हुन लागेको जनाइएको छ। कात्तिक ८ गतेदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै सुरु भएको आन्दोलन अहिले एक महिना पूरा गरेको छ। यो अवधिमा बारले कालोपट्टी बाँधेर धर्ना दिनेदेखि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक्न मूलगेटमा धर्ना दिनेसम्मको अभियान चलाएको छ।
तेस्रो चरणको आन्दोलनको अन्तिमतिर हुँदा बारले बुधबार देशभरका उच्च अदालतमा आन्दोलन गरेको छ। बारले आज पनि सर्वोच्च परिसरमा १० बजेदेखि १२ बजेसम्म धर्ना दिने र २ बजे सर्वोच्चको गेट हुँदै बालुवाटारसम्म पुगेर प्रधानन्यायाधीशको बहिर्गमनका लागि दबाब दिने कार्यक्रम तय गरेको छ । कार्यकारी शक्तिसँग भागबन्डा गरेको, अमूक मुद्दा निश्चित न्यायाधीशको मात्र इजलासमा राखेर भनेअनुसार फैसला गर्न लगाएको, परिवारका सदस्य र आफैंले नियुक्ति दिएका पदाधिकारीलाई बिचौलियाका रूपमा प्रयोग गरेको जस्ता आरोप जबरामाथि लाग्दै आएको छ । कानुन व्यवसायीका साथै कानुन क्षेत्रका संस्थाहरूले निरन्तर आन्दोलन गरिरहँदा प्रधानन्यायाधीश जबरा भने सडकबाट माग्दैमा राजीनामा नदिने भन्दै पदमै रहने हठमा छन् ।
यता प्रधानन्यायाधीश जबराले तोकेका इजलास कात्तिक ८ देखि बहिष्कार गर्दै आएका सर्वोच्चका न्यायाधीशहरू आगामी बुधबारदेखि नियमित इजलासमा फर्किने भएका छन् । गोला प्रक्रियाद्वारा पेसी तोक्ने निर्णय कार्यान्वयन गर्दै उनीहरू नियमित इजलासमा फर्किने भएका हुन् ।