राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक

काठमाडौँ : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अधिकांश नीतिहरुलाई निरन्तरता दिँदै शुक्रबार समीक्षा सार्वजनिक गरेको हो। साथै बढ्दो तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले तीन महिनामा १ खर्ब ८५ अर्ब बढी रिपोमार्फत बजारमा पैसा पठाएको छ ।

शुक्रबार आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै बैंकले तीन महिनामा कुल १ खर्ब ८५ अर्ब ५० करोड रुपैयाँ रिपो जारी गरेको बताएको हो ।  यस्तै, सोही अवधिमा स्थायी तरलता सुविधामार्फत ८ खर्ब २२ अर्ब ६८ करोड गरी कुल रु. १० खर्ब ८ अर्ब १७ करोड तरलता प्रवाह गरिएको बैंकले जनाएको छ । समीक्षा अवधिमा निक्षेप संकलन उपकरणमार्फत् ३१ अर्ब ६५ करोड र रिभर्स रिपोमार्फत् २८ अर्ब ३५ करोड गरी कुल ६० अर्ब तरलता प्रशोचन गरिएको समेत बैंकले जनाएको छ ।

बिज्ञापन

अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत् ६० अर्ब तरलता प्रशोचन गरिएको थियो । समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर २४ करोड ७६ लाख खुद खरिद गरी २९ अर्ब ७३ करोड तरलता प्रवाह गरेको छ ।  अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब २४ करोड खुद खरिद गरी १ खर्ब ४७ अर्ब ४३ करोड तरलता प्रवाह गरिएको थियो ।