कोपा अमेरिका – ब्राजिलको शानदार जित

एजेन्सी । साविक विजेता ब्राजिलले ४७औं संस्करणको दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकामा लगातार दोस्रो जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा ब्राजिलले पेरुलाई ४–० गोलले हराउँदै शानदार जित निकालेको हो ।

ब्राजिलको रियो दि जेनेरियोस्थित ओलम्पिक निल्टन सान्तोस स्टेडियममा भएको खेलमा धरेलु टोली ब्राजिललाई जिताउन एलेक्स सान्द्रो, नेयमार, एभर्टन रिबेइरो र रिचार्लीसनले एक–एक गोल गरे । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको ब्राजिलले दोस्रो हाफमा थप ३ गोल गर्न सफल भएको हो ।

खेलको १२औं मिनेटमा एलेक्स सान्द्रोले गोल गरेपछि ब्राजिलले पहिलो हाफभरि १–० गोलको अग्रता बनायो । त्यस्तै दोस्रो हाफको खेलको ६८औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई २–० गोलको अग्रता दिलाए । कोपा अमेरिका : ब्राजिलको दोस्रो जित

खेल सकिन एक मिनेट बाँकी छँदा रिबेइरोले गोल गर्दै ३–० गोलको अग्रता दिलाउँदा इन्ज्युरी समयमा रिचार्लीसनले गोल गर्दै ४–० गोलको शानदार जित दिलाए ।

उक्त जितसँगै ब्राजिलले दोस्रो जित निकाल्दै ६ अङ्क जोडेको छ । यसअघि ब्राजिलले भेनेज्वेलामाथि ३–० गोलको सहज जित दर्ता गरेको थियो । यता पराजित पेरुले भने लगातार दोस्रो खेलमा पराजित भएको छ ।