जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २७ घाइते

जाजरकोट : नेपालगञ्जबाट जाजरकोटका लागि छुटेको रात्री बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।आइतबार बिहान दुई बजे कुदु बराहचौकनजिक बस दुर्घटनामा परेको हो । नेपालगञ्जबाट छुटेको ना ६ ख २७५७ नम्बरको बस जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

बस सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको थियो । दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए । मृतकहरुको सनाखत हुन बाँकी छ । दुर्घटनामा घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइतेहरू सबैलाई उपचार गर्न जिल्ला अस्पताल जाजरकोट पुर्‍याइएको छ ।

जाजरकोटका प्रहरी डीएसपी मधुकुमार थापाका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनालाई प्रहरीले आफ्नै दुई वटा गाडीमा र अन्य बसमा उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा ल्याएको डिएसपी थापाले बताए ।