कोरोना प्रभावितलाई पाँच अर्ब वितरण गरिँदै : यी व्यक्तिले पाउनेछन् १० हजार

सरकारले कोभिड–१९ बाट प्रभावित भई रोजगारी र आयआर्जन गुमाएका अति विपन्न परिवारलाई करिब पाँच अर्ब रूपैयाँ वितरण गर्ने तयारी गरेको छ। करिब पाँच लाख परिवारलाई प्रतिपरिवार १० हजार रूपैयाँका दरले नगद वितरण गर्न लागेको हो।

आर्थिक वर्ष २०७८/७९ को बजेटमा भएको व्यवस्थाअनुसार रकम वितरणको प्रक्रिया अघि बढाएको अर्थ मन्त्रालयले जनाएको छ। सरकारले दिने नगद प्राप्त गर्न विगतमा गर्दै आएको रोजगारी पूर्ण रूपमा गुमाएको र रोजगारीको अर्को अवसर प्राप्त नगरी बेरोजगार भएको असंगठित क्षेत्रको मजदुर वा कामदार हुनुपर्नेछ।

बिज्ञापन

त्यसैगरी, खुला सडक, फुटपाथ वा चौर, खर्पन, नाङ्लो, डोको आदिमा सामान बेच्ने अति विपन्न व्यवसायी, दैनिक ज्याला मजदुरी गर्ने भरिया, कृषि मजदुर, गोठाला, खेताला, ज्यालादारी श्रमिक, रिक्सा चालक, ठेलागाडा, मजदुर, सार्वजनिक यातायात मजदुर, पर्यटक भरियाले अनुदान पाउनेछन्।

कोभिड–१९ संक्रमण्को कारणबाट एकाघर परिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक सङ्कट झेल्नुपरेको परिवार तथा अभिभावक गुमाएका असहाय नाबालक स्याहार गर्ने परिवार पनि अनुदानका लागि योग्य रहने अर्थ मन्त्रालयले जनाएको छ।

अस्थायी बसोबास गर्दै आएका निवदकको हकमा एकाघर परिवारको सदस्यबाहेक छिमेकमा बस्दै आएका अन्य कुनै नेपाली नागरिक बहालमा बस्दै आएको घरधनीले अस्थायी बसोबास गर्दै आएको बेहोरा सनाखत गर्नुपर्ने व्यवस्था छ।