
काठमाडाैँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनपछि पार्टीलाई पहिलो बनाउनका निम्ति क्रियाशील हुन कार्यकर्तालाई निर्देशन दिए । सह-महामन्त्री प्रकाशशरण महतको आज पुस्तक विमोचन गर्दै उनले निर्वाचनमा पार्टीलाई पहिलो बनाउन सबै क्रियाशील हुनुपर्ने बताएका हुन् ।

नयाँ नेतृत्व चयन सकेसम्म सहमतिकै आधारमा गरिने सहमति नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने उनले बताए । देउवाले प्रतिस्पर्धामा हुने जितहारलाई स्वाभाविक रुपमा लिएर कुनै पनि प्रकारको कटुता नराख्न आह्वान गरे । देउवाले भने, ‘हामी भरसक सहमतिको आधारमा अगाडि जान्छौं । केही लागेन भने प्रजातान्त्रिक तरिकाले प्रतिस्पर्धा पनि होला । प्रतिस्पर्धामा जितहार हुन्छ ।



हार्नेले जित्नेलाई सहयोग गर्ने, जित्नेले हार्नेको सहयोग लिने । यसलाई सामान्य प्रक्रियालाई लिएर कुनै पनि प्रकारको कटुता, मनोमालिन्य, असहिष्णुता नआओस् ।’ १४औं महाधिवेशन नेपाली कांग्रेस र प्रजातान्त्रिक भविष्यका लागि पनि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै सभापति देउवाले भने, ‘यसलाई सफल पारेर फर्किएर यो पार्टीलाई बलियो बनाएर कांग्रेसलाई बहुमत पार्टी बनाउन लाग्न साथीहरू लाग्नेछन् ।’

कार्यक्रममा प्रधानमन्त्री देउवाले कांग्रेस सहमहामन्त्री डा। प्रकाश शरण महतले लेखेको ‘नेपाली कांग्रेस र नेशन बिल्डिङ’ नामक पुस्तक विमोचन गरे । यो पुस्तक डा। महतले नेपाली त्रिभुवन विश्वविद्यालयमा एमए अध्ययन गर्दा लेखेको शोधपत्रको संशोधित रुप हो । वीपी कोइरालाको पालामा नेपाली कांग्रेसको आर्थिक नीति जे थियो, आधुनिक नेपालको आर्थिक नीति त्यही भएको भन्दै डा।
महतले नेपाली कांग्रेसको आर्थिक सामाजिक नीतिबारे यस पुस्तकबारे जानकारी लिन सकिने बताए । हाल अंग्रेजी भाषामा रहेको यो पुस्तकलाई नेपालीमा पनि प्रकाशित गर्ने डा। महतले बताए ।