
गृह मन्त्रालयले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गर्दै पाँचथरका चार स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

गत कात्तिकको बेमौसमी बर्षाले गएको बाढीपहिरोले प्रभावित पाँचथरका चार स्थानीय तहलाई संघीय सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । अविरल बर्षाका कारण पाँचथरका यी स्थानीय तहमा जनधनको ठूलो क्षति भएको थियो । पाँचथरका संकटग्रस्त क्षेत्र घोषणा भएका मिक्लाजुङ, तुम्वेवा, फाल्गुनन्द गाउँपालिका र फिदिम नगरपालिकासहित देशभरका ३३ स्थानीय तहहरु माघसम्मका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका छन् ।



प्रदेश १ अन्तर्गत इलामका ६ र धनकुटाको एक स्थानीय तह पनि संकट ग्रस्त क्षेत्रमा परेका छन् ।

इलामका इलाम र सूर्योदय नगरपालिकासँगै फाकफोकथुम, माङसेबुङ, देउमाइ र सन्दकपुर गाउँपालिका संकटग्रस्त क्षेत्रमा समेटिएका छन् ।
त्यसैगरी धनकुटाको संकटग्रस्त क्षेत्र घोषणा हुनेमा चौबिसे गाउँपालिका रहेको गृह मन्त्रालयले जनाएको छ ।
संकटग्रस्त क्षेत्र घोषणा गरिएकामा सुदूरपश्चिम प्रदेशका ६ जिल्लाका २० स्थानीय तह, प्रदेश एकका तीन जिल्लाका ११, लुम्बिनी प्रदेशका २ स्थानीय तह छन् । संकटग्रस्त क्षेत्र घोषणा हुनेमा एक उपमहानगरपालिका, चार नगरपालिका र २८ गाउँपालिका रहेको गृह मन्त्रालयले जनाएको छ ।
बाढी र पहिरोले ठूलो संख्यामा जनधनको क्षति भएका जिल्लालाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिसमा संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।