दाङमा जीप दुर्घटना, ३ जनाको मृत्यु, २० घाइते

दाङ : दाङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २० जना घाइते भएका छन्। तुलसीपुरबाट सल्यानको कपुरकोट जाँदै गरेको रा १ ज ४३८ नम्बरको जीप आइतबार साँझ तुलसीपुर–३ सिरखोलामा दुर्घटना भएको हो।

दुई जनाको घटनास्थलमै र अर्का एकजनाको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु अर्यालले जानकारी दिए ।  मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिका ४८ वर्षीय प्रेम प्रकाश शर्मा, सोही ठाउँकी ४८ वर्षीया साउती घर्ती र २५ वर्षीया लालमति खड्का रहेका छन्।

बिज्ञापन

घाइते धेरैको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइतेलाई नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ। तीव्र गतिमा रहेको जीपको ब्रेक फेल हुँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।