
काठमाडौँ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको खुलातर्फ मतगणना आजदेखि हुँदैछ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार खुल्लातर्फका ३५ केन्द्रीय सदस्यको मतगणना आज बिहान १० बजेबाट सुरु गरिन लागिएको हो। ३५ जनाको लागि ९९ जनाले उम्मेदवारी दिएका छन् ।

संयोजक घिमिरेले प्रत्येक उम्मेदवारले आफू वा आफ्नो १ जना प्रतिनिधि मतगणना कार्यमा उपस्थिति गराउन आग्रह गरेका छन्। महाधिवेशनबाट सभापतिसहित १३ पदाधिकारी निर्वाचित भइसकेका छन् । सभापतिमा शेरबहादुर देउवा दोहोरिएका छन् भने पदाधिकारीमा अधिकांश नयाँ अनुहार आएका छन्। सभापतिपछि महत्त्वपूर्ण मानिने महामन्त्री पदमा तेस्रो पुस्ताका २ नेता गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । उपसभापतिमध्ये १ जना नयाँ व्यक्ति नै आएका छन् ।



यसअघि पार्टी सभापतिले मनोनित गर्ने उपसभापति पदमा पहिलोपटक महाधिवेशन (निर्वाचन)बाट चुनिएका व्यक्ति आएका हुन्।सभापतिमा दोहोरिएका देउवाको प्यानलबाट बहुमत सदस्य पदाधिकारीमा निर्वाचित भएका छन्। तर, महत्त्वपूर्ण पदमा भने उनीइतर पक्षका नेताहरु निर्वाचित भएका छन्।

देउवा पक्षबाट पदाधिकारीमा सभापति १, उपसभापति १ र सहमहामन्त्री ६ जना निर्वाचित भएका छन्। देउवाइतर (शेखर कोइराला) पक्षबाट उपसभापति १, महामन्त्री २ र सहमहामन्त्री २ जना निर्वाचित भएका छन् ।